आयुर्वेद क्याम्पस कीर्तिपुरमा विद्यार्थीले ताला लगाएका छन्।
शिक्षक नियुक्ति प्रतिस्पर्धात्मक र पारदर्शी हुनुपर्ने माग गर्दै स्वतन्त्र विद्यार्थी युनियनले मंगलबारदेखि क्याम्पस प्रशासनमा अनिश्चितकालीन तालाबन्दी गरेको हो।
कात्तिक २७ गते क्याम्पसले शिक्षक सहायक पदको लागि प्रकाशित गरेको विज्ञापनबाट सीमित व्यक्तिलाई मात्र फारम भर्न मिल्ने र नियतवश अन्य व्यक्तिहरूलाई बञ्चित दाबी गर्दै युनियनले ताला लगाएको हो।
हाल क्याम्पसका सम्पूर्ण विभागहरूमा शिक्षकहरू रिक्त छन्। क्याम्पस प्रमुखले आफू निकट व्यक्तिहरूलाई करारमा राख्ने नियतले शल्य विभाग र द्रव्यगुण विज्ञान विभागको लागि मात्र विज्ञापन प्रकाशन गरेको स्ववियु सहसचिव हेमन्त गौतमले दाबी गरे।
स्ववियुले २७ गते प्रकाशित विज्ञापनको खारेज गर्न माग गरेको छ।
स्ववियुले क्याम्पसमा स्नातकोत्तर अध्ययन अध्यापनको सुरूआत हुनुपर्ने, छात्रावास भवनको निर्माणको सुरूआत हुनुपर्ने, अस्थायी छात्रावासको सिट संख्या वृद्धि गरिनुपर्ने र त्रिवि अन्तर्गत आयुर्वेद अध्ययन संस्थान (आइओए) स्थापनाका लागि सक्दो पहल हुनुपर्ने लगायत माग पनि गरेका छन्।