पराराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली रूस र सर्विया भ्रमणमा जाने भएका छन्।
ज्ञवाली मंसिर ७ गते (शनिबार) रसियाको राजधानी मस्को प्रस्थान गर्ने कार्यक्रम रहेको पराराष्ट्र मन्त्रालयले बिहीबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। मन्त्री ज्ञवालीको रूसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभसँग सोमबार प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्ने कार्यक्रम छ।
मंगलबार उनले मस्कोस्थित अन्तर्राष्ट्रिय सम्बन्ध संस्थामा नेपाल रूस सम्बन्ध र सहयोग बारे सम्बोधन गर्नेछन्। उनले मस्कोमा रूसी नेता र गैर-आवसीय नेपाली संघका प्रतिनिधिसँग पनि भेट्नेछन्।
भ्रमणको दोस्रो चरणमा, परराष्ट्रमन्त्री ज्ञवालीले सर्वियाको बेलग्रेड जानेछन्। उनी नेपाल र सर्वियाबीच कूटनीतिक सम्बन्धको ६० औँ वार्षिकोत्सवका अवसरमा बुधबार सर्विया पुग्नेछन्। त्यहाँ उनले प्रथम उप-प्रधानमन्त्री तथा सर्वियाका विदेश मामिलामन्त्री आइभिका डाकिकसँग द्वीपक्षिय वार्ता गर्नेछन्।
ज्ञवालीले सर्वियाका उच्चस्तरीय व्यक्तिहरुसँग शिष्टचार भेट पनि गर्ने जनाइएको छ। उनको उपस्थितिमा लगानी र पर्यटन प्रवर्द्धनका लागि स्थानीय चेम्बर अफ कमर्स र टुर अपरेटरबीच बेलग्रेडमा अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरिएको छ।
ज्ञवालीसहितको प्रतिनिधिमण्डल मंसिर १४ गते नेपाल फर्किने छ।