नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले परिणाममुखी काम गर्न र आफ्नो विश्वासमाथि घात नगर्न कर्मचारीलाई निर्देशन दिएका छन्।
मन्त्रालयलमा पदबहालीलगत्तै आज आयोजित स्वागत र निवर्तमानमन्त्री थममाया थापाको बिदाई कार्यक्रममा बोल्दै मन्त्री गुरुङले आफूले कर्मचारी संयन्त्रलाई पूर्ण विश्वास गर्ने तर विश्वासघात चाहिँ हुन नहुने बताएका हुन्।
‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सार्नुभएको समृद्ध नेपाल:सुखी नेपालीको लक्ष्य पूरा गर्न हरेक क्षेत्रमा एक कदम अगाडि बढ्नु छ, यो मन्त्रालयले पनि लोककल्याणकारी राज्यको अवधारणालाई आम नागरिकसम्म पुर्याउन काम गर्नुछ,’ मन्त्री गुरुङले भने, ‘स्थायी सरकारको रूपमा रहेको कर्मचारी संयन्त्रलाई म पूर्णत विश्वास गर्छु, तपाईंहरूको सुझाव र अनुभवलाई परिणाममुखी नतिजा निकाल्न लाग्नुछ, त्यसैअनुसार काम होस्, हामी सबै मिलेर नतिजा निकाल्ने हो।’
मन्त्री गुरुङले आफूमाथि विश्वासघात भए मान्य नहुने चेतावनी समेत दिए।
‘यतिमात्र भन्न चाहन्छु, मेरो विश्वासमाथि घात नहोस्, विश्वासघात भयो भने चाहिँ क्षमा दिन सकिन्न।’
पदभार सम्हालेलगत्तै उनले बाल विवाह अन्त्य हुने गरी २ महिनाभित्र राष्ट्रिय कार्ययोजना बनाउने प्रस्ताव पनि स्वीकृत गरे।
नवनियुक्त मन्त्री गुरुङलाई मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलगायतका पदाधिकारीले मन्त्रालयमा स्वागत गरेका थिए।