पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंले गरेको आदेश बदर गर्न माग गर्दै बिहीबार उच्च अदालत पाटनमा निवेदन दिएका छन्।
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको र प्रतिकार गर्दा शारीरिक हिंसा गरेको अभियोगमा डिल्लीबजार कारागार चलान भएका महराले बिहीबार जिल्ला अदालतको आदेश बदर गरी थुनामुक्त गराउन माग गर्दै निवेदन दिएको रजिष्ट्रार बाबुराम दाहालले बताए।
‘उहाँले फौजदारी कार्यविधि संहिता-२०७४ को दफा ७३ बमोजिम थुनछेकउपरको निवेदन दिनुभएको छ,’ दाहालले सेतोपाटीसँग भने।
दाहालका अनुसार महराको निवेदनमाथि कैफियत प्रतिवेदन मागको लागि शुक्रबार इजलास पेस गरिँदैछ। त्यसपछि उनको निवेदन सुनुवाइको प्रक्रियामा जान्छ।
जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते महरालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो।