राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी एक वर्षमा धरहराको मुख्य संरचना तयार हुने जनाएको छ।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माण द्रुत रुपमा भइरहेको जानकारी दिँदै आगामी एक वर्षमा मुख्य संरचना पुनर्निर्माण हुने बताए।
‘धरहराको पुनर्निर्माण स्पष्ट कार्ययोजना र समय तोकेर गरिरहेका छौं, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने ‘समितिलाई स्पष्ट रुपमा भन्न चाहन्छौं कि धरहरा पुनर्निर्माण समयमा नै गर्नेछौं।’
बैठकमा सांसद कृष्णगोपाल श्रेष्ठले धरहरा बन्नेमा आशंका जनाएका थिए। उनले भने ‘धरहरा निर्माण गर्ने कम्पनी क्षतिपूर्ति लिने दाउमा छ, अहिलेको तालले १० वर्षमा पनि बन्दैन, धरहरा बन्दै बन्दैन।’
सांसद श्रेष्ठले धरहरा पुनर्निर्माणलाई समयमा सम्पन्न गर्न आफ्नो तर्फबाट सक्दो सहयोग हुने बताए। निर्माणको ठेक्का पाएको जिआइइटिसी–रमन जेभीले एक वर्षदेखि धरहराको पुनर्निर्माण गर्दै आएको छ। प्राधिकरणले धरहराको मुख्य संरचना आगामी एक वर्षभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको छ।
समिति सभापति शशी श्रेष्ठले समितिमा पेश गरेको समयअनुसार धरहरा पुनर्निर्माण सम्पन्न गर्ने प्राधिकरणबाट प्रतिबद्धता आउनु सह्रानीय भन्दै कार्ययोजनाअनुसार काम गर्न आग्रह गरिन्।
सांसदहरुले धरहरा पुनर्निर्माणलाई समयमै सम्पन्न गर्न अनुगमन प्रभावकारी बनाउन आग्रह गरे। तीन– तीन महिनामा अनुगमन गर्नुपर्नेमा उनीहरुको जोड छ।
धरहराको तीन तलाको ढलान भइसकेको छ।
बैठकमा सांसदहरु दिलेन्द्रप्रसाद बडु, नवराज सिलवाल, झपट रावल लगायतले पुनर्निर्माण सन्तोषजनक रुपमा बढेको बताएका थिए।