नेपाल बार एसोसिएसनले न्यायपरिषद्का सदस्य पदमप्रसाद वैदिकले राजीनामा दिएको विषयप्रति आपत्ति जनाएको छ।
केदारप्रसाद चालिसेको अवकाश भएपछि सर्वोच्च अदालतमा एक न्यायाधीश पद रिक्त छ। सो पदमा आफ्नो नियुक्तिको वातावरण तयार पार्न वैदिकले राजीनामा दिएका थिए।
बिहीबार बारले विज्ञप्ति जारी गर्दै परिषद्को सदस्य रही आफैंले आफैंलाई न्यायाधीश बनाउनका लागि परिषद् सदस्य लगायतका केन्द्रमा लविङ गर्ने कुरा र न्यायाधीश बन्ने, बनाउने कार्य कुनै पनि आधारमा युक्तियुक्त र न्यायोचित मान्न नसकिने बताएको छ।
केही समयअघि बसेको न्यायपरिषद् बैठकमा वैदिकलाई प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले अनौपचारिक रूपमा प्रस्ताव गरेको दाबी गरिएको थियो।
न्यायपरिषद् सदस्यकै हैसियतमा रहँदा नियुक्ति विवादास्पद देखिने भएपछि वैदिकले राजीनामा बुझाएको स्रोतले जनायो।
नियुक्ति गर्ने ठाउँमै रहने व्यक्तिलाई न्यायाधीश नियुक्ति गर्न नहुने मान्यता छ।
१७ गते बसेको न्यायपरिषद् बैठकमा वैदिकको नाममा विवाद आउने भन्दै परिषद सदस्यहरूले सिफारिस गर्न असहमति जनाएका थिए। सो असहमतिपछि वैदिकले राजीनामा दिएर भए पनि न्यायाधीश सिफारिसमा पर्ने वातावरण बनाएका हुन्।
नेकपानिकट कानुन व्यवसायीको हैसियतमा उनी न्यायपरिषद् सदस्य बनेका थिए। उनी नेकपा अध्यक्ष पुष्पकमल दाहाल निकट मानिन्छन्।