विवेकशील नेपाली दलले २०७९ सालमा हुने आमनिर्वाचनको तयारी थाल्ने निर्णय गरेको छ।
मंसिर १४ मा सकिएको उपनिर्वाचनको समीक्षा गर्न बसेको बैठकले आगामी निर्वाचनको तयारी अहिलेदेखि नै सुरू गर्ने निर्णय गरेको हो।
विवेकशीलले संगठन विस्तारलाई प्राथमिकताका साथ अघि बढाउने पनि बताएको छ।
पार्टीका नीति सचिव संजिव भट्टराईले बिहीबार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले यसै समीक्षासँगै २०७९ को निर्वाचनको तयारी थाल्ने निर्णय गरेका छौं। हामी २०७६ भित्र नै हाम्रो सङ्गठनको सम्पूर्ण प्रादेशिक सम्मेलन गर्दै अझ चुस्त सङ्गठनसहित अघि बढ्नेछौं।’
पार्टीको नीति र रणनीतिमासमेत व्यापक छलफल गर्दै अझ स्पष्ट ढंगले अघि बढ्ने निर्णय भएको उनले उल्लेख गरेका छन्।
उपनिर्वाचनको समीक्षा प्रतिवेदन मंसिरभित्रै सार्वजनिक गर्ने दलले जनाएको छ। उपनिर्वाचनबाट निर्वाचित उम्मेदवारलाई विवेकशीलले बधाई दिएको छ।
उपनिर्वाचनमा विवेकशील पार्टीले कास्की-२मा प्रतिनिधि सभाका लागि जमुना शर्मा र बाग्लुङमा प्रदेश सभाका लागि सन्तोष भण्डारीलाई उम्मेदवार उठाएको थियो।