उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले महिला हिंसा अन्त्यका लागि नीति र कार्यक्रम निर्माणसँगै त्यसलाई कार्यान्वयन गर्ने कुरा महत्वपूर्ण भएको बताएका छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसाविरुद्धको वर्ष २०७६/७७ को अभियानअन्तर्गत बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले सरकारले बनाएका कार्यक्रम स्थानीयस्तरसम्म पुर्याउनुपर्नेमा जोड दिए। लैङ्गिकताका आधारमा भइरहेका विभेद हटाएर सम्मानपूर्ण रुपले बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार क्रियाशील भएको उनको भनाइ थियो।
'लैङ्गिक हिंसा पूर्ण रुपले हटाउन ऐन, नियमावली र कार्यविधि बनाएर अघि बढ्नुपर्छ। सरकार समाजमा रहेका सबै खालका विभेद हटाएर सबै वर्ग, जाति र क्षेत्रलाई सम्मानपूर्ण रुपले बाँच्न पाउने वातावरण बनाउन लागिपरेको छ,' रक्षामन्त्री पोखरेलले भने।
लैङ्गिक हिंसा जोकसैले गरे पनि त्यसको भर्त्सना गर्नुपर्ने मन्त्री पोखरेलले बताए। पीडितलाई संरक्षण र उद्धारका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै उनले औपचारिक र प्रायोजित कार्यक्रमले मात्रै हिंसा न्यूनीकरण नहुने स्पष्ट पारे।
कार्यक्रममा महिलामन्त्री पार्वत गुरुङले लैङ्गिक हिंसाविरुद्धको वर्ष कार्यान्वयन गर्न सरकारले कार्ययोजना बनाएको बताए। मन्त्रालयले सबै प्रदेशमा कार्यक्रम आयोजना गरिरहेको उनको भनाइ छ। मन्त्रालयले मर्यादित महिनावारी नीतिको मस्यौदा तयार गरेको बताउँदै उनले भने, 'आगामी वर्षदेखि मर्यादित महिनावारी दिवस मनाउने योजना रहेको छ।'
मन्त्रालयका सचिव चन्द्रप्रसाद घिमिरेले हिंसा न्यूनीकरणका लागि घरघरबाट र समुदायस्तरबाटै अभियान सुरु गर्न आवश्यक रहेको बताए। अधिकारका क्षेत्रमा कार्यरत राधा पौडेलले मर्यादित महिनावारी नीति कार्यान्वयन गर्नुपर्ने र छाउप्रथा पूर्णरुपले अन्त्य गर्नुपर्ने औँल्याइन्।