सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश सचिव मायाप्रसाद शर्माले पदबाट दिएको राजीनामा नेकपाले अस्वीकृत गरेको छ।
सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले शर्माले दिएको राजीनामा अस्वीकृत गर्ने र उनलाई काममा फर्कन निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
‘उहाँले सचिव पदबाट दिनुभएको राजीनामा अस्वीकार गर्ने र काममा फर्कन निर्देशन दिइएको छ,’ श्रेष्ठले पत्रकारहरूसँग भने।
पार्टीले दिएको जिम्मेवारीप्रति असन्तुष्टि जनाउँदै शर्माले गत असोजमा राजीनामा दिएका थिए।
पूर्वमाओवादी केन्द्रका नेता रहेका शर्माले आफूलाई अध्यक्षको जिम्मेवारी दिनुपर्ने बताएका थिए।