सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमा विवाद हल गर्न प्रधानमन्त्रीले माधवकुमार नेपाललाई विशेषदूत बनाएर भारत भ्रमणमा पठाउने कुरा अलिकति सल्लाह र धेरै हल्ला भएको बताएका छन्।
सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकपछि प्रवक्ता श्रेष्ठले नेता नेपाललाई विशेषदूत बनाएर पठाउने कुरा धेरै हल्ला भएको बताएका हुन्।
माधव नेपाललाई विशेषदूत बनाएर भारत पठाउने कुरा के भयो? भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै प्रवक्ता श्रेष्ठले भने, ‘यो कुरा यसभन्दा अगाडि नै मैले प्रष्ट पारिसकेको छु। यसबारे आज कुनै छलफल भएन। अलिकति सल्लाह भएको हो, धेरै हल्ला भएको हो।’
प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवाद हल गर्न विशेषदूत बनेर भारत भ्रमणमा जान आफूलाई आग्रह गरेको यसअघिको बैठकमा जानकारी गराएका थिए।
‘सम्माननीय प्रधानमन्त्रीज्यूले कमरेड माधवकुमार नेपाललाई सरकारको विशेषदूतका रूपमा अहिले देखा परेका सीमा समस्या समाधान गर्न भारत भ्रमणमा जान अनुरोध गर्नुभएको कुरा कमरेड नेपालले यसअघि बैठकमा जानकारी गराउनुभएको थियो,’ उनले भने, ‘त्यसबारेमा पार्टीले कुनै छलफल र निर्णय गरेको छैन। यो सम्माननीय प्रधानमन्त्री र उहाँले पठाउने दूतहरूको सम्बन्धित कुरा हो।’