नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भएको छ।
सोमबार सिंह निवास चाक्सीबारीमा भएको भेटमा केन्द्रीय सदस्यहरू दिलेन्द्रप्रसाद बडु र हृदयराम थानी पनि सहभागी छन्।
बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बहिष्कार गरेपछि सहमतिमै बैठक सञ्चालन गर्न नेताहरूले छलफललाई निरन्तरता दिएका हुन्।
सभापति शेरबहादुर देउवाले आफ्नो पक्षबाट कुराकानी गर्ने जिम्मेवारी उपसभापति निधिलाई र बरिष्ठ नेता पौडेलले सिंहलाई दिएका छन्।
कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका जारी गर्ने प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा पेश गर्नुपर्ने अडान पौडेल पक्षले राख्दै आएका छन्।
तर सभापति देउवा पक्षले समायोजनको काम पूरा नै नभएको भन्दै अहिले नै कार्यतालिका प्रकाशित गर्न नहुने बताएको छ।
सिंहका सहयोगी यूपी लामिछानेका अनुसार केहीबेर अघिदेखि चाक्सीबारीमा नेताहरूबीच छलफल भइराखेको छ।
आइतबार पनि पौडेल पक्षले केन्द्रीय समिति बहिष्कार गरेका थिए।
बैठक केहीबेर चलेर सोमबार दिउँसो १ बजेसम्म स्थगित गरिएको थियो। सहमतिमै बैठक सञ्चालन गर्ने र सभापति देउवाले गत बिहीबार पेश गरेका ९ एजेन्डामाथि छलफल सुरू गर्न दुई समूहबीच छलफल भइराखेको हो।
सभापति देउवाले २८ विभागलाई बढाएर ४१ पुर्याउने र विभागलाई पूर्णता दिने, भातृ संगठन तरूण दलको म्याद छ महिना थप्ने र नेविसंघलाई नेतृत्वदिनेलगायतका एजेन्डा छलफलका लागि पेश गरेका छन्।