सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सुरू भएको छ।
सोमबार विहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक जारी छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटी सदस्यले धारणा राख्न सुरू गरेका छन्।
पार्टी कार्यालयका सचिव ईश्वरी रिजालका अनुसार बैठकमा स्थायी कमिटी सदस्यले धारणा राख्ने क्रम जारी छ। नेकपामा ४५ सदस्यीय स्थायी कमिटी छ।
एक वर्षपछि आइतबार स्थायी कमिटी बैठक बसेको थियो।
उक्त बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव छलफलका लागि पेश गरेका थिए।
प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शमा तयार पारेको प्रतिवेदनमा वर्तमान राजनीतिक घटनाको विश्लेषण,अन्तर्राष्ट्रिय परिस्थिति,पार्टी एकता सुदृढ गर्ने, सरकारका कामको समीक्षा, उपनिर्वाचन,सचिवालय निर्णयहरुको अनुमोदन सम्बन्धी प्रस्ताव र पार्टीका आगामी कार्यक्रमका रुपरेखा उल्लेख छ।