सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो बाँकी जीवन विकास र समृद्धिमा केन्द्रीत रहने बताएका छन्।
काठमाडौंमा शनिबार आयोजित अन्नपूर्ण-काठमाडौं समाजको साधारण सभामा प्रचण्डले देशका लागि जे गर्ने सपना थियो त्यो पूरा हुन नसकेको पनि बताए।
‘हुनत मैले दुई पटक देशको प्रधानमन्त्री सम्हाल्ने मौका प्राप्त गरेँ। तर मैले जे सपना नेपालकै लागि यत्ति चाहिँ मैले गर्न सक्छु र गर्न पर्छ भन्ने ठानेको हो त्यो गर्न सकेको छैन,’ अध्यक्ष प्रचण्डले थपे, ‘कास्की जिल्ला र सिंगो देशका लागि यति गर्न पर्छ र सकिन्छ भन्ने ठानेको हो त्यति मैले गर्न पाएको र सकेको छैन भन्ने मेरो अनुभूति छ। मैले गर्नुपर्ने अलि धेरै छ।’
उनले देशका लागि आफूले अझै धेरै काम गर्न बाँकी रहेको पनि बताए।
‘मैले देशको लागि पनि गर्नुपर्ने अहिलेकोभन्दा अलि धेरै बाँकी छ। मैले देशभरि जाँदा भन्ने गरेको छु मेरो बाँकी जीवन अब विकास निर्माण र समृद्धिको निम्ति नै केन्द्रीत छ,’ उनले भने, ‘आउने दिनमा ती सपनाहरू पूरा गर्न संकल्प लिएकै छु।’
पूराना संरचनामा बानी परेकोले नयाँ संरचना अलि अप्ठेरो लाग्नु स्वभाविक भएको प्रचण्डले बताए। तर देश नयाँ संरचनाबाट पछि हट्न नसक्ने उनको भनाइ छ।
‘जनता जागिसकेपछि नपत्याउँदा नपत्याउँदै श्रीपेच खोसेर फालिन्छ। पहिले गुमेको स्वर्ग फिर्ता लिन हिजोका राजा महाराजाहरू दश गुना बढी शक्ति लगाउँछन् रे क्या,’ उनले भने।
परिवर्तनका नायकहरूलाई राजा महाराजाहरूले कुनै न कुनै रूपमा मनोबैज्ञानिक दवाव दिइरहेकोले सजक हुन जरूरी रहेको उनले बताए।
‘अन्तिम शक्ति जनता हो,’ उनले भने।