राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीका अवसरमा शुभकामना दिँदै शाहप्रति श्रद्धासुमन व्यक्त गरेकिछिन्।
'नेपाली समाज साँस्कृतिक विविधताबीच समन्वयको बलियो सूत्रमा एकताबद्ध भएको कुरा आत्मसात् गर्दै यहाँको अमूल्य सभ्यता, संस्कृति र सम्पदालाई पृथ्वीनारायण शाहले सम्मान गर्नुभएको थियो। नेपाल सबै जातको साझा फूलबारी भएको कुरा स्वीकार गर्दै जनताबीच भावनात्मक एकीकरण गर्नुपर्ने कुरामा उहाँ सजग हुनुहुन्थ्यो भन्ने कुरा उहाँका सन्देश र व्यवहारबाट स्पष्ट हुन्छ,' राष्ट्रपतिको सन्देशमा उल्लेख छ।
जनचाहनालाई सर्वोपरि ठान्ने शाहका जीवन्त दृष्टिकोण मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पनि सान्दर्भिक भएको जनाउँदै राष्ट्रपति भण्डारीले आजको यस ऐतिहासिक दिनमा राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै सदाचार र सुशासनलाई अझ बलियो बनाएर समृद्ध, स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा सम्बद्ध सबै पक्ष परिचालित हुनुपर्नेमा जोड दिइन्।