प्रधामनमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच सभामुख चयनबारे छलफल भएको स्रोतले बतायो।
‘आजको बैठक सकरात्मक भएको छ। सभामुख चयन प्रक्रियालाई लम्ब्याउन नहुनेमा दुई अध्यक्षको एकमत रहेको छ,’ स्रोतले भन्यो,‘उपसभामुखको राजीनामा गराउने र संसदको गतिरोध अन्त्य गर्नेबारे सकारात्मक ढंगले कुराकानी भएको छ।’
स्रोतका अनुसार सभामुख कसलाई बनाउने भन्ने विषयमा अझै पनि दुई अध्यक्षबीचमा कुराकानी भएको छैन।
ओली-प्रचण्डबीच गत आइतबार भेट भएको थियो। त्यसयता प्रचण्ड बालुवाटार गएका थिएनन्।
आइतबार दुई अध्यक्षले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न भने पनि उपसभामुखले राजीनामा नदिने अडान दोहोर्याएकी थिइन्।
सभामुखको उमेदवार तय नभएसम्म आफूले राजिनामा नदिने उनको भनाइ छ।
पूर्वमाओवादी पक्षधर नेताहरूले भने प्रधानमन्त्री ओलीकै कारणले उपसभामुखको राजीनामा आउन ढिलाइ भएको आरोप लगाएका छन्।
भैंसेपाटी भेलापछि प्रधानमन्त्री ओली प्रचण्डसँग सशंकित भएको उनीनिकट नेताहरूको तर्क छ।
अघिल्लो बुधबार नेकपा सचिवालय सदस्य वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ भेला भएका थिए।
वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरू भने सभामुख चयनको विषयमा मौन छन्।
आजको भेटमा दुई अध्यक्षबीच एमसिसीको विषयमा पनि छलफल भएको थियो।
अमेरिकी सहयोग परियोजना एमसिसीलाई पारित गर्ने कि नगर्ने भन्नेमा नेकपाभित्र विवाद छ।