रेबान (रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल)ले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सहयोग पुर्याउने उद्देश्यले ‘रेबान–बन्दीपुर फेष्ट २०२०’को आयोजना गर्ने भएको छ।
शुक्रबार राजधानीमा एक कार्यक्रम गरी रेबानले पर्यटकीय स्थल बन्दीपुरमा उक्त महोत्सव गर्न लागेको जानकारी दिएको हो।
पर्यटकीय गन्तव्य बन्दीपुरमा आन्तरिक पर्यटन प्रवद्र्धन पनि हुने र काठमाडौं, पोखरा, सौराहाका रेष्टुरेन्ट व्यवसायीहरु र बन्दीपुरका पर्यटक व्यवसायीहरुबीच सद्भाव बढाउने उद्देश्यले बन्दीपुरमा सांस्कृतिक कार्यक्रमसहितको खाना महोत्सव आयोजना गर्न लागेको रेवानका अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए।
उनका अनुसार नेपाल आइडलमा गत वर्षका फाइनलिष्ट तथा चर्चित गायक निशान भट्टराई लगायत अन्य कालाकारको विशेष प्रस्तुति समेत हुनेछ।
महोत्सव यही माघ १७ र १८ दुई दिनसम्म चल्ने छ।
कार्यक्रमको मुख्य प्रायोजक गोर्खा ब्रुअरी र प्रायोजकहरुमा जावलाखेल ग्रुप आफ कम्पनी र नेपाल डिस्टिलरी रहेको छ।