प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सूचना प्रविधि विधेयकको विरोधमा प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई विरोध पत्र बुझाएको छ।
आइतबार काठमाडौंसहित ७७ जिल्ला प्रशासन पुगेर कांग्रेस कार्यकर्ताले सिडिओहरूमार्फत् विरोध पत्र पठाएको हो।
सरकारले सदनमा पेश गरेको सूचना प्रविधि विधेयक फिर्ता लिन पनि कांग्रेसले माग गरेको छ। संविधानले दिएको स्वतन्त्रता विधेयकले कुण्ठित गर्न खोजेको कांग्रेसको भनाइ छ।
कांग्रेस काठमाडौं सभापति सबुज बानियाँले बुझाएको विरोध पत्रमा सरकारले जनताका अधिकार कुण्ठित गर्दै अधिनायकबादतर्फ उन्मुख रहेको उल्लेख छ।
संविधानप्रदत्त नागरिक अधिकार हनन् र कुण्ठित गर्ने मनशायले सरकारले सूचना प्रविधि विधेयक ल्याएको आरोप कांग्रेसको छ। विधेयक फिर्ता नलिए कांग्रेस सडकमा आउन बाध्य हुने पनि चेतावनी विरोध पत्रमा उल्लेख छ।