सत्तारुढ नेकपाका सांसद रामनारायण बिडारीले शहीदगेटदेखि नेपाली सेनाको हेडक्वार्टरबीचको टुँडिखेल सेनाले कब्जा गरेकोमा विरोध जनाएका छन्।
राष्ट्रिय सभा बैठकमा सांसद बिडारीले सेनाले जनतालाई टुँडिखेल उपभोग गर्न रोकेको बताए। ‘रानीपोखरीदेखि आर्मी हेडक्वाटरसम्म रहेको टुँडिखेलमा विस्तार विस्तार जङ्गी अड्डा सर्दैसर्दै सहिदगेट आइपुग्यो’ बिडारीले भने, ‘अहिले जनताले उपभोग गर्न पाउँदैनन्। त्यहाँ सैनिक परेड खेलेको हुन्छ।’
उनले रानीपोखरी पछि रत्नपार्क र खुलामञ्च भूकम्पपछि कब्जा भएकोमा विरोध गरे। टुँडिखेल मुलुकको प्राकृतिक र सांस्कृतिक पहिचान भएको बिडारीको तर्क थियो। उनले खुल्लामञ्चमा बसपार्क बनाइएको उल्लेख गर्दै टुँडिखेलको उत्तरमा रहेको बसपार्कको ठाउँ टावर बनाउने नाममा ओगटिएकोमा प्रश्न गरे।
‘टुँडिखेलको उत्तरपूर्वको बसपार्क पुरै ओगटेर राखेको छ, ठेकेदारले। कति पैसा खायो, किन त्यहाँ का रोकेर राख्यो। टुँडिखेलमा त्यसो गर्ने मन्त्री कहाँ हल्लिँदै छ, खोज्नुपर्यो, बिडारीले भने, ‘बसपार्क खुल्लामञ्चमा राख्ने र टावर बनाउने अपराधीपूर्ण योजना कसले बनाउँछ।’
बिडारीले सेनाले प्रयोग गरिरहेको सहिगेट भन्दा तलपट्टिको टुँडिखेलमा स्थायी संरचना बनउन नहुने बताए। शहीदगेट र जंगीअड्डाबीचको अर्को सानो टुँडिखेल जनताले चलाउन पाउँदैनन्। खबरदार त्यो शहीदगेटबाट जंगी अड्डाको बीचमा कुनै स्थायी संरचना बनाउन पाँइदैन’ बिडारीले भने।
शहीदगेटबाट तल्लो भागको टुँडिखेलमा सेनाले पछिल्लो समय प्यारापिट सहितको खेल मैदान, पुस्तकालयको पक्की भवन बनाएको छ।
सांसद बिडारीले रक्षा मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र संघीय मामिला मन्त्रालय र स्थानीय तहलाई समेत टुँडिखेलको अवस्थाबारे ध्यानाकर्षण गराए।
बिडारीले काठमाडौंको नेवार समुदायको जात्रापर्व गर्ने ठाउँ र देउता रहेको ठाउँमा सेना रहेकाले त्यहाँ बिद्रोह हुनसक्ने बताए। ‘यही सरकारले सेनासँग कुरा गरेर जनताले उपभोग गर्न पाउनुपर्ने गर्नुपर्यो’ बिडारीले भने, ‘यति काम नगर्दा अजिमा जस्तो देउता सेनाको परिधिभित्र छ। त्यहाँ विद्रोह हुने सम्भावना छ।’
उनले टुँडिखेलमा पछिल्लो समय थारु र गुरुङहरुको समेत पर्व मनाइन थालेको उल्लेख गर्दै खुल्ला राख्न माग गरे।