सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ।
सोमबार बिहान प्रधानमन्त्री ओली भेट्न दाहाल बालुवाटार पुगेका हुन्। अहिले छलफल जारी छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सभामुख निर्वाचन व्यवस्थित गर्नेबारे दुबै अध्यक्षबीच कुराकानी भइरहेको हो।
‘सभामुख निर्वाचन कसरी व्यवस्थित गर्ने भन्नेलगायतक कुराकानी भएको हो,’ थापाले सेतोपाटीसँग भने।
नेकपाले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई पार्टीबाट सभामुख बनाउने निर्णय गरेको छ। नेकपाले सभामुख उम्मेदवार टुंगो लगाएपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सोमबार राजीनामा दिने भएकी छन्।
सोमबार नै प्रतिनिधिसभा बैठक डाकिएको छ। उपसभामुखले पनि राजीनामा दिएपछि बैठक जेष्ठ सदस्यले सञ्चालन गर्नेछन्। संसदमा जेष्ठ सदस्य राजपा संसदीय दलका नेता महन्थ ठाकुर हुन्।
गत असोज १३ गतेदेखि सभामुख पद रिक्त छ। सोमबारको संसद बैठकले सभामुख निर्वाचन प्रक्रिया सुरू गर्नेछ।
सभामुख चयनपछि मात्रै उपसभामुख चयन गर्ने तयारी छ।