प्रतिनिधिसभाको सभामुख चयनका लागि माघ १२ गते निर्वाचन हुने भएको छ।
प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य महन्थ ठाकुरले माघ १२ गतेका लागि सभामुख निर्वाचनको मिति तोकेका हुन्।
त्यसअघि आजै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी थिइन्।
संविधानले एउटै दलबाट सभामुख र उपसभामुख बन्न नमिल्ने व्यवस्था गरेको छ।
नेकपाले सभामुख पदमा दाबी गरेपछि सोही दलबाट उपसभामुख बनेकी तुम्बाहाङ्फेले राजीनामा गरेकी हुन्।
नेकपाले आइतबार नै अग्नि सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ।
नेकपाबाट यसअघि सभामुख बनेका कृष्णबहादुर महरा बलात्कार मुद्दामा हाल थुनामा छन्। महराले बलात्कार प्रकरणमा राजीनामा गरेपछि सभामुख पद रिक्त थियो।
प्रतिनिधिसभामा नेकपाको बहुमत रहेकाले सापकोटा निर्वाचित हुने लगभग निश्चित रहेको छ। यद्यपी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुष्पा भुषाललाई सभामुखको उम्मेद्वार बनाउने तयारी गरिरहेको छ।
यस्तो छ निर्वाचन कार्यतालिका
माघ ७ गते: प्रतिनिधिसभाको कुनै माननीय सदस्यले प्रतिनिधिसभाको कुनै माननीय सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने।
समय र स्थान: बिहान ११ बजेदेखि २ बजेसम्म, ल्होत्से हल, संघीय संसद भवन
निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचना दर्ता क्रम अनुसार सूची प्रकाशन गर्ने
समय र स्थान : अपरान्ह २:३०, सूचना पाटी संघीय संसद भवन
माघ १२ गते: प्रतिनिधि सभा नियमावली,२०७५ को नियम ७ बमोजिम प्रतिनिधि सभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावक सदस्यले प्रस्ताव गर्ने, समर्थक सदस्यले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार उम्मेदवारीको प्रस्तावहरूलाई क्रमश: निर्णयार्थ प्रस्तुत गर्ने
समय र स्थान : ३ बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठक, प्रतिनिधि सभा कक्ष, संघीय संसद भवन