नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले समाजवादी पार्टी नेपालका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवलाई नेकपामै मिल्न आउन आग्रह गरेका छन्।
उनले समाजवादीका अशोक राईलाई पनि नेकपामै आउन आग्रह गरे।
समाजवादीका कार्यकर्तालाई नेकपामा भित्र्याउँदै बुधबार काठमाडौंमा प्रचण्डले बाबुराम, अशोक राई समाजवादीमा निरिह भएर बस्नुपरेको स्थिति रहेको बताए।
‘बाबुराम, अशोक राई त्यहाँ (समाजवादी पार्टीमा) बडो निरिह भएर बस्नुपरेको अवस्था छ। उहाँहरू बडो अप्ठ्यारो स्थितिमा हुनुहुन्छ भनेर रामप्रसादजीले भन्नुभयो। उहाँले भनेको सत्य नै होला। मलाई ठ्याक्कै त थाहा छैन,’ प्रचण्डले भने, ‘मैले भन्नुपर्दा उपेन्द्रजी पनि मिल्न आए बरू राम्रो हुन्छ भन्न चाहन्छु।’
समाजवादीका केन्द्रीय सदस्य रामप्रसाद रिजाललगायत नेकपा प्रवेश गरेका हुन्।
साना पार्टी बनाएर झमेला गरिरहनुभन्दा नेकपामै मिल्न आए जनताका लागि पनि राम्रो हुने प्रचण्डले बताए।
‘अलग/अलग चुल्हो चौका लगाएर हुनेवाला केही छैन,’ उनले भने, ‘मिलेरै जनतालाई विकास दिऔं।’