राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशमा नेकपा विजयी भएको छ। नेकपाका तर्फबाट उम्मेदवार बनेका सुमित्रा विसी र मायाप्रसाद शर्मा विजयी भएका हुन्।
निर्वाचन अधिकृत डा. राजेन्द्र कुमार आचार्यका अनुसार विसीले ३ हजार ६८४ मत ल्याएकी छिन्। उनकी प्रतिद्वन्दी नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी गणेशकुमारी बस्नेतले १ हजार २६ मत ल्याएकी छिन्।
यस्तै नेकपाका शर्माले ३ हजार ६१८ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी काँग्रेसका डिल्लीराम पाठकले ९७६ मत ल्याएको निर्वाचन अधिकृत आचार्यले जानकारी दिए। शर्मालाई नेकपाले अन्यबाट सदस्यको उम्मेदवार बनाएको थियो। शर्मा जाजरकोटका हुन् भने विसी सल्यानकी हुन्।
राष्ट्रिय सभा सदस्यका लागि कर्णाली प्रदेशमा ९८.४८ प्रतिशत मत खसेको छ। बिहीवार जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसरमा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा १९५ जना मतदाताले मतदान गरेका छन्। निर्वाचन अधिकृत आचार्यका अनुसार ३ जनाले मत दिएका छैनन्।
जिल्ला निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी हिराचन्द्र पोखरेलका अनुसार स्थानीय तहका एकजना उपमेयर, दुईजना उपाध्यक्ष मतदानमा सहभागी भएनन्। निर्वाचन कार्यालयका अनुसार कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली, डोल्पाको डोल्पो बुद्ध गाउँपालिका उपाध्यक्ष मल्लटासी गुरुङ र हुम्लाका नाम्खा गाउँपालिका उपाध्यक्ष पेमा तामाङ मतदानमा उपस्थित नभएका हुन्।
कालिकोटको तिलागुफा नगरपालिकाका उपमेयर दन्ता नेपाली दर्शना अमेरिकामा छिन्। गत कात्तिकमा गोष्ठीमा सहभागी हुन भन्दै अमेरिका गएकी उपमेयर नेपाली अझसम्म पनि फर्किएकी छैनन्।
कर्णाली प्रदेशमा प्रदेशसभा सदस्य ४० जना र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १५८ जना गरी १९८ जना मतदाता छन् । प्रदेश सभाका ४० जना सदस्यहरुले नै मतदान गरेको पोखरेलले जानकारी दिए।
प्रदेश सभा सदस्यहरुमा नेकपाबाट ३३, कांग्रेसबाट ६ र राप्रपाबाट १ जना रहेका छन्। स्थानीय तहमा नेकपाका ५३, कांग्रेसका २६ र राप्रपाका १ जना प्रमुख/उपप्रमुख छन्। कर्णालीमा कूल मतभार ४ हजार ७६४ छ । जसमा नेकपाको ३ हजार ५६४ र कांग्रेसको १ हजार २६ रहेको छ।