कर्णाली प्रदेश विकास परिषदको पहिलो बैठक प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरू भएको छ।
परिषदका अध्यक्ष मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा शुक्रबारदेखि बैठक सुरू भएको हो। बैठकमा प्रदेश योजना आयोगले तयार पारेको कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको मस्यौदाका बारेमा सदस्यहरूको सुझाव लिइने छ।
बैठकमा परिषदको सदस्यका रूपमा प्रदेश सरकारका मन्त्री, प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता, प्रदेश सभा संसदीय समितिका अध्यक्ष, गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिका प्रमुखको सहभागिता रहेको छ।
बैठकको सुरूमा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पूण्यप्रसाद रेग्मीले आवधिक योजना तर्जुमा, निर्माण प्रक्रिया र मस्यौदासम्बन्धी आधारपत्र प्रस्तुत गरेका छन्।
उपाध्यक्ष रेग्मीको आधार पत्र प्रस्तुतिसँगै परिषद् सदस्यहरूसँग छलफल तथा सुझाव लिने क्रम चलिरहेको छ।
कर्णाली प्रदेशको विकास र समृद्धिको मार्गचित्रका रूपमा योजना आयोगले तयार गरेको प्रथम पञ्चवर्षीय योजना (आ.व. ०७६/७७–०८०/८१) मस्यौदामा १० वटा परिच्छेद रहेका छन्।
पञ्चवर्षीय योजनाको मस्यौदामा स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधि, विज्ञ एवं सरोकारवालाहरूको सुझाव लिएर स्वीकृतिका लागि प्रदेश सरकारलाई पेश गरिनेछ।