रिहा भएपछि सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले आफू हिरासतमा रहँदा आराम गर्न पाएको प्रतिक्रिया दिएका छन्। आइतबार ६ हजार धरौटी तिरेर प्रदेश सभा सांसद मनाङे रिहा भएका हुन्।
रिहापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले दुई दिन आफूले रेष्ट गर्न पाएको प्रतिक्रिया दिए। हिरासतमा हुँदा तपाईलाई कस्तो महसुस भयो? भन्ने प्रश्नमा उनले भने ‘मज्जै लाग्यो, रेष्ट गर्न पाएँ, मैले पनि सात दिनसम्म ट्रेनिङ गरेको थिएँ, दुई दिन मजाले सुतेँ।’
साथै उनले अखिल नेपाल फुटबल संघ (एन्फा)मा भ्रष्टाचार रहेको दावी गरे। उनले भने ‘एन्फा कसैको बाबुको सम्पत्ति होइन, विदेशीले पठाएको पैसामा यिनीहरुले मस्ति गरिरहेका छन्, खेलकुदमा जानुपर्ने पैसा दिएको छैन।’
सांसदको काम तलब मात्र खाने नभएको उनले बताए। ‘जिल्ला (मनाङ)लाई राम्रो गरेन भने म त बोल्नै पर्यो, मेरो काम यही हो, तलब मात्र खाने होइन सांसदको काम’ उनले भने।
माघ ७ गते पोखराको भण्डारढिकमा आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहअघि मनाङेले कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए। मनाङबाट आएका खेलाडीहरुलाई होटलमा राखेको खर्च नदिएको भन्दै उनले मिलनलाई झापड हानेका थिए।
अध्यक्ष मिलनले धेरैलाई ठगेको मनाङेले रिहापछि आरोप लगाए। ‘हामीले मुद्दा हाल्नुपर्नेमा, अहिले उ आफैले दुःख पाइरहेको छ’ मनाङेले भने।