नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बैठक राखिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
गत शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार बैठकमा छलफल गरी निर्णय गर्न कांग्रेसले केन्द्रीय समिति बैठक डाकेको हो।
शुक्रबार बुढानिलकण्ठमा भएको बैठकमा १४ औं महाधिवेशन यसअघि तोकिएको मिति ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा गर्ने, जिल्ला अधिवेशनको कार्यतालिका भने अघि सार्ने, क्रियाशील सदस्यता छानविन गर्न समिति बनाउनेलगायत विषयमा सहमति भएको थियो।
बैठकमा नेविसंघ तदर्थ समिति गठन गर्नेलगायत विषयमा पनि छलफल हुँदैछ। सभापति शेरबहादुर देउवाले सुनसरीका राजीव ढुंगानालाई नेविसंघ सभापति प्रस्ताव गरेका छन्। नेविसंघमा विधान मिचेर कार्यसमिति ल्याउने तयारी कांग्रेस नेताहरूको छ। नेविसंघमा ३२ वर्ष उमेरहद छ।
सोमबारको बैठकमा बरिष्ठ नेता पौडेल पनि उपस्थित हुनेछन्। मंसिर २६ पछि बसेका बैठकमा पौडेल सहभागी थिएनन्।