साझा पार्टीले एमसिसीबारे बुझ्न कार्यदल गठन गर्नुपर्ने बताएको छ।
पार्टीका प्रवक्ता सूर्यराज आचार्यले आइतबार विज्ञप्ति जारी गरी एमसिसीबारे विस्तृत बुझ्न विषय विज्ञ र सरोकारवाला संलग्न एक कार्यदल गठन गर्नु उपयुक्त हुने उल्लेख गरेका छन्।
‘नेपालको वृहत्तर हितलाई केन्द्रमा राखी प्रस्तावित सम्झौताको समीक्षा र आवश्यक संशोधनको सुझावका लागि विषय विज्ञ र सरोकारवाला संलग्न एक कार्यदल गठन गर्नु उपयुक्त हुन्छ,’ विज्ञप्तिमा भनिएको छ।
एमसिसीको प्रस्तावित सम्झौतामा परेका कतिपय बुँदाहरू नेपालको हित र आत्मसम्मानको विपरित देखिने साझाको दावी छ। यस्ता संवेदनशील विषयहरूको निरूपणबिना सम्झौतालाई अनुमोदन गर्ने प्रक्रिया अघि बढाउनु उपयुक्त नदेखिने आचार्यले निकालेको विज्ञप्तिमा भनिएको छ।