सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस ढुलमुले र सम्झौतापरस्त पार्टी भएको आरोप लगाएको छ।
बुधबार नेकपाको जारी केन्द्रीय कमिटीको बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमा नेपाली कांग्रेस पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी भए पनि आफ्नो ढुलमुले सम्झौतापरस्त र दलाल प्रवृत्तिका कारण यसले आर्थिक सामाजिक रूपान्तरणको प्रतिनिधित्व गर्न नसक्ने उल्लेख गरिएको छ।
दुई अध्यक्षको प्रतिवेदनमा भनिएको छ-संविधान कार्यान्वयन र लोकतान्त्रिकरणको प्रक्रियालाई अगाडि बढाउन नेपाली कांग्रेससँग आवश्यकता अनुसार सहकार्य गर्नु पर्दछ। तर त्यसो गर्दा उसको प्रतिक्रियावादी चरित्रको आलोचना र भण्डाफोर गर्ने कुरालाई बिर्सनु हुँदैन।
देशमा रहेका साना क्षेत्रीय पार्टी र साना वामपन्थी पार्टीहरूसँग आलोचना सहकार्यको र एकताको नीति अनुसार उनीहरूलाई आर्थिक सामाजिक रुपान्तरणको कार्यमा सहभागी गराउन जोड लागाउनुपर्ने दुई अध्यक्षको प्रस्ताव छ।
राजनीतिक प्रतिवेदनमा नेकपाले आफूलाई भने देशभक्त पार्टी भनेको छ।
प्रतिवेदनमा भनिएको छ-आज नेपाली समाजको राजनीतिक र सामाजिक रूपान्तरणको क्षेत्रमा भूमिका खेल्ने राजनीतिक दलहरूमा हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)नै आम देशभक्त र श्रमजीवी नेपाली जनताको आशा र भरोसाको केन्द्र हो।
भक्तपुर र धरानको जितले कांग्रेस उत्साहित भयो गत मंसिरमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले विगतमा भन्दा कम सिट सङ्ख्या जितेको भए पनि भक्तपुर र धरानमा प्राप्त सफलताले उत्साहित भएको नेकपाको ठहर छ।
साथै कांग्रेसले अन्य दलहरूसँग गठबन्धन गरेको समेत नेकपाले उल्लेख गरेको छ।
भक्तपुरमा नेपाली कांग्रेसले र राप्रपा लगायतका दलहरूले नेकपाविरूद्ध गठबन्धन गरेको र धरानमा नेपाली कांग्रेस र समाजवादी नेपालबीच अघोषित गठबन्धन हुँदा निर्वाचन हारिएको नेकपाको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ।
कर निर्धारण गर्दा वस्तुनिष्ठ र व्यवहारिक बन्न नसक्दा धरानमा निर्वाचन हारिएको प्रतिवेदनमा भनिएको छ।