कालिकोटको पलाँता गाउँपालिकाले गाउँ यातायात सेवा सुरु गर्ने भएको छ।
गाउँपालिकाले आफ्ना गाउँपालिकावासीलाई सस्तो भाडादरमा सहज सुविधा दिन गाउँ यातायात सेवा सुरु गर्न लागेको हो।
चालू आर्थिक वर्ष २०७६/०७७ को पहिलो गाउँसभाबाट गाउँ यातायात सञ्चालनका लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो।
गाउँ यातायात सञ्चालनका लागि चार वटा गाडी खरिद गरिसकिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले जानकारी दिए।
'गाउँवासीको सहज सेवाका लागि गाउँ यातायात सञ्चालन गर्न लागेका छौँ,' उनले भने, 'त्यसका लागि चार वटा सार्वजनिक यातायात बस खरिद गरेका छौँ।'
गाउँपालिकाले पलाँताभित्र सार्वजनिक यातायात सुरु गरी भौतिक पूर्वाधार तथा यातायात सञ्चालन हुने यातायात प्रणालीलाई सरल, सहज, पहुँचयोग्य, यात्रुमैत्री, विश्वासनीय र सुरक्षित बनाउन एकीकृत यातायात प्रणालीको व्यवस्थापन तथा यातायातको विस्तार गर्न लागेको अध्यक्ष बमले बताए।
'यातायातसम्बन्धी नीति, अल्पकालीन तथा दीर्घकालीन योजना र रणनीति तयार गर्ने, सञ्चालन तथा व्यवस्थापन गर्ने, सूचना प्रणालीको विकास, गाउँपालिकाले एकीकृत यातायात प्रणालीको विकास गरी सञ्चालन गर्ने व्यवस्था गरेको छ,' उनले भने।
फागुन १ गतेदेखि गाउँ यातायात सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ। 'रुट निर्धारण गर्ने, सार्वजनिक यातायातका साधनबीच सूचना प्रविधिमा आधारित एकीकृत र नगदविहीन प्रणालीको विकास गरी कार्यान्वयन गराइने छ,' अध्यक्ष बमले भने।