सर्वोच्च अदालतले महिला फुटबल एकेडेमी निर्माण गर्ने लगायतका सम्पूर्ण काम कारबाही रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अन्तरिम आदेश दिएको छ।
एन्फाले रौतहटको चन्द्रपुर नगरपालिकामा नेपालकै पहिलो महिला फुटबल एकेडेमी (टेक्निकल सेन्टर) निर्माण गर्ने सरकारी जग्गा मिचेको भन्दै रिट परेको थियो।
अधिवक्ता सुजित केसीले वन मन्त्रालय, खेलकुद मन्त्रालय, वन विभाग, राष्ट्रिय खेलकुद परिषद्, एन्फा, एन्फा अध्यक्षसहित १६ जनालाई विपक्षी बनाउँदै दायर गरेको रिटमा न्यायाधीश पुरूषोत्तम भण्डारीको इजलासले अन्तरिम आदेश दिएको हो।
यो आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने निर्णयमा पुग्न माघ २९ गते दुवै पक्षलाई छलफलमा आउन समेत सर्वोच्चले आदेश गरेको छ।
दुवै पक्षको बहस सुनेपछि अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने निर्णय गर्ने छ।
'अखिल नेपाल फुटबल संघको वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा तथा महासचिव इन्द्रमान तुलाधरले कार्यसमितिमा निर्णय समेत नगराइ खेल मैदान बनाउने नाऊँमा सरकारी स्वामित्वको जग्गामा अनधिकृत रूपमा कब्जा गर्ने कार्य गरेका छन्,' रिटमा भनिएको छ, 'अध्यक्ष शेर्पाले कार्यसमिति समेतलाई जानकारी नदिइ फिफाबाट प्राप्त ४ करोडभन्दा धेरै नेपाली रुपैयाँ नेपालकै पहिलो महिला फुटबल एकेडेमी (टेक्निकल सेन्टर) निर्माण गर्ने भन्दै सरकारी वन क्षेत्रको जग्गा कब्जा गरी निर्माण कार्य सुरू गराएका छन्।'
वन मन्त्रालयअन्तर्गतको जमिन राष्ट्रिय प्राथमिकताको आयोजनाका लागि हो भने मात्र मन्त्रिपरिषदको निर्णय बमोजिम भोगचलनको अनुमति दिनु पर्ने अधिवक्ता केसीको दाबी छ।
खेल मैदानमा एकेडेमी निर्माणको लागि कानुन बमोजिमको निर्णय नभएको र यसलाई वातावरणीय प्रभाव मूल्यांकनबाट नै पास नगरिएको उनको दाबी छ।
रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नं. ६ मा रहेको हातेमालो सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष रामलाल ठोकरले २०७५ साल जेठ १३ गतेका दिन ३.५ हेक्टर ५.२५ विघा सरकारी जग्गालाई कृत्रिम मिनि पिच बनाउन भनि रौतहट जिल्ला फुटबल संघको अध्यक्ष भगवान बहादुर दर्लामी मगरसित २५ वर्षको लागि सम्झौता गरी दिएका थिए।
उक्त २५ वर्षको सम्झौताको आधारमा मात्र एन्फाले फिफाबाट रकम स्वीकृत गराइ न्यू ड्राइगन/नयाँ युग जे.भिसी (सन् २०१८ नोबेम्बर २८) निर्माण सम्झौता गरी एकेडेमी निर्माण कार्य सुरू गरेको छ।
सम्झौता पत्र २०७५ साल जेठ १३ गते तयार पारिएको छ तर लागू हुने मिति भने २०७२ साल असार १२ गते राखिएको केसीको दाबी छ।