प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई कालो झण्डा देखाउन पुगेका राष्ट्रिय जनता पार्टी नेपालकै १० कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
आज बिहान ११ बजे जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरको निरीक्षण गर्न पुगेका मन्त्री साहलाई कालो झण्डा देखाउन पुगेका राजपाका विद्यार्थी नेताहरू रोशन मिश्रा, दिनेश यादव, वीरेन्द्र साह, शिवशंकर साह, करण मिश्रालगायतलाई पक्राउ गरिएको धनुषाका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए।
जानकी हेल्थ केयर अस्पतालमा आज आयोजित खोप कार्यक्रममा सहभागी हुन मन्त्री साह त्यहाँ पुगेका थिए।
ती विद्यार्थी नेता अस्पताल अगाडि नै कालोझण्डाका साथै मोसो दल्ने योजनाका साथ अस्पताल बाहिरै बसेपछि मन्त्री साह डेढ घण्टा ‘बन्दी’ भएका थिए।
शुक्रबार राजपा नेपालका धनुषा जिल्ला अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झा ज्ञानुसहित केही नेता मन्त्री साहको चेम्बरमा मन्त्रालय र मन्त्रीको कामकारबाहीको विषयमा असन्तुष्टि व्यक्त गर्न पुगेका थिए।
सोही क्रममा मन्त्री साहले नेता झालाई ‘तपाईंको के औकात’ भनेर भनेका थिए। त्यसपछि नेता झाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै मन्त्री साहलाई औकात भए जनकपुरको कुनै कार्यक्रममा सहभागी भएर देखाउन चुनौती दिएका थिए।