सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको मुद्दा वृहत पूर्ण इजलासमा पठाएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश कुमार रेग्मीको इजलासले आइतबार उक्त मुद्दा वृहत पूर्ण इजलास पठाउने निर्णय गरेको सर्वोच्च अदालत स्रोतले जानकारी दियो। उक्त मुद्दा अव फागुन ७ गते पाँच जनाभन्दा धेरै न्यायाधीशले हेर्नेछन्।
गत मंसिर २० गते सर्वोच्चले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको थियो।
पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकीले हालेको रिटको सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले काम अघि नबढाउन आदेश दिएको थियो।
यस्तै पुस ६ गते सर्वोच्चले निजगढ विमानस्थलको काम तत्काल अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश दिएको थियो।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा रुख काट्न नहुने भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले पनि सर्वोच्चमा रिट दर्ता गरेका थिए।
आजको इजलासले यी दुबै मुद्दा पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो।