नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हालेकी छन्।
सोमबार दिउँसो राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएसँगै मन्त्री तुम्बाहाङ्फेले सिंहदबारस्थित मन्त्रालयमा पुगेर पदभार सम्हालेकी हुन्।
उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ खुवाएका थिए।
गत पुसमा तत्कालीन उपप्रधानमन्त्री एवम् कानुन मन्त्री उपेन्द्र यादवले राजीनामा दिएपछि कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई दिइएको थियो।
उपसभामुखबाट राजीनामा दिनुभन्दा पहिला प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई मन्त्री बनाउने वचन दिएका थिए।
मन्त्री बनाउने भएपछि दुई अध्यक्षले उनलाई उपसभामुखका हैसियतले बस्दै आएको सरकारी निवास नछाड्न समेत भनेका थिए। दुई अध्यक्षको सोही आग्रहका कारण राजीनामापछि पनि बस्दै आएको निवास बसिरहेकी थिइन्।
आफ्नै सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले आफूमाथि तात्कालीन सभामुख कृष्ण बहादुर महराले यौन उत्पीडन गरेको आरोप लगाएपछि महराले पदबाट राजीनामा दिनुपरेको थियो।
सभामुख र उप-सभामुखमा एकै दलका व्यक्ति बहाली हुन नपाउने संवैधानिक व्यवस्थाका कारण दुई अध्यक्षले तुम्बाहाङफेलाई उपसभामुख पदबाट राजीनामा दिएर पार्टीलाई सहयोग पुर्याउन आग्रह गरेका थिए।
शिवमायाले दुई अध्यक्षको आग्रह अनुसार माघ ६ गते उपसभामुखबाट राजीनामा दिएकी थिइन्।
त्यतिबेला शिवमायाले सभामुखमा आफ्नो स्वभाविक दाबेदारी रहने भन्दै आफूलाई सभामुख बनाउनुपर्ने माग पनि गरेकी थिइन्। उनको सो मागको पक्षमा नेकपाभित्रकै केही नेताहरूले लबिङ गरेका थिए भने सामाजिक क्षेत्रबाट समेत उनलाई सभामुख बनाउन चर्को दबाब परेको थियो।
पार्टी एकताको मानसिकताले गर्दा सभामुख बनाउन नसकेको भन्दै प्रचण्डले मन्त्री बनेर काम गर्न तुम्बाहाङ्फेलाई भनेका थिए।
त्यसपछि उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङ्फे लगत्तै नेकपाको केन्द्रीय सदस्यमा मनोनित भएकी थिइन्। उनी तत्कालीन नेकपाको ९ औं महाधिवेशनको निर्वाचित केन्द्रीय सदस्य समेत हुन्। २०७४ मा उपसभामुख बनेपछि पार्टी राजनीतिमा निष्क्रिय बनेकी थिइन्।
यो पनि पढ्नुहोस्ः