नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद भागवत ज्ञवालीको निधन भएको छ।
ललितपुरको अल्का अस्पतालमा उपचाररत ज्ञवालीको मंगलबार निधन भएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
ज्ञवाली केही समयदेखि अल्सर रोगबाट पीडित थिए। यसअघि ज्ञवालीको दिल्लीमा पनि उपचार गरिएको थियो।
ज्ञवाली गुल्मीका हुन्। २०४८ सालमा भएको निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट ज्ञवाली सांसद भएका थिए।
ज्ञवालीको निधनमा सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन्।
‘पूर्वसांसद ज्ञवालीको निधनको खबरले मलाई अत्यन्त दु:खित र स्तब्ध बनाएको छ,’ मंगलबार विज्ञप्ति निकालेर देउवाले भनेका छन्, ‘उहाँले पार्टीभित्र संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो।’
पार्टीले एक निष्ठावान नेतृत्व गुमाएको पनि देउवाले उल्लेख गरेका छन्।