नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिनिधि सभा बैठकमा बालुवाटार जग्गा प्रकरणमा व्यंग्य गर्दै स्वस्थानी व्रत कथा सुनाएका छन्।
मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका महासचिव एवम् सांसद विष्णु पौडेल र सरकारका प्रवक्ता गोकुल बास्कोटालाई व्यंग्य गरेका हुन्।
उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई समेत स्वस्थानी कथामार्फत् व्यङ्ग गरे।
थापाले सुनाएको कथा:
कुमारजी आज्ञा गर्नुहुन्छ।
विष्णुमणि,
अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुनेगरी किन्नु। थाहा पाइहाले होइन होइन भन्नु।
चित्त बुझाउन नसकेर अप्ठेरोमा नै पर्न गए चोरीको सामान फर्काउनु र दुईपटक विष्णु विष्णु भन्नु।
त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाम गएर खड्ग उचाल्नु र चार पटक विष्णु विष्णु भन्नु। त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नु पर्नेले देख्ने छैनन्।
इति श्री अख्तियार पुराणे, कुमार विष्णु सम्वादे श्री स्वस्थानी व्रतकथा बालुवाटार प्रकरण वर्णनम्, प्रथम अध्याय।
यसअघि माघ २२ गते अख्तियारले बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गर्दा विष्णु पौडेलका छोरा र न्यायाधीश कुमार रेग्मीले किनेको जग्गा फिर्ता गर्ने भनेकाले मुद्दा नचलाएको बताएको थियो।