महानगरीय प्रहरी वृत्त सिंहदरबारमा आफूलाई सलाम नगरेको भन्दै प्रहरी निरीक्षकले एक जना जवानलाई कुट्न खोजेका छन्।
प्रहरी निरीक्षक विक्रम सुवेदीले वृत्तमा कार्यरत प्रहरी जवान बलबहादुर विश्वकर्मामाथि गालीगलौज गर्दै कुटपिटको प्रयास गरेका हुन्।
सोमबार बिहान सादा पोशाकमा आएका प्रहरी निरीक्षक सुवेदीलाई विश्वकर्माले सलाम गरेका थिएनन्। चेन अफ कमाण्डमा चल्ने प्रहरी संगठनमा जुनियर कर्मचारीले सिनियरलाई सलाम गर्ने प्रचलन छ।
‘सलाम नगरेपछि सम्झाउने क्रममा विश्वकर्माले केही बोलेपछि प्रहरी निरीक्षक सुवेदीले कुट्ने प्रयास गरेको देखिन्छ,’ सिंहदरबार वृत्तका डिएसपी कौशल बुढाथोकीले भने।
उनले यस विषयमा अनुसन्धान गरिने बताएका छन्। प्रहरी निरीक्षक सुवेदी र जवान विश्वकर्माबीच अन्य विषयमा मतभेद रहेको स्रोतले जनाएको छ।