नेपाली कांग्रेसको भातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकार र त्रिभुवन विश्वविद्यालयको षड्यन्त्रले स्ववियु निर्वाचन स्थगित भएको बताएको छ।
त्रिविले सोमबार विज्ञप्ति निकालेर फागुन १४ गते स्ववियु निर्वाचन नहुने उल्लेख गरेपछि नेविसंघले उक्त निर्णय आपत्तिजनक भएको उल्लेख गरेको छ।
नेविसंघ महामन्त्री दीपक भट्टराईले बुधबार विज्ञप्ति निकालेर त्रिविले स्ववियु निर्वाचन स्थगित गरेकोमा आपत्ति जनाएका हुन्। सरकार र त्रिविको षड्यन्त्रले स्ववियु निर्वाचन स्थगित भएको भट्टराईको आरोप छ।
‘सरकार र त्रिवि स्ववियुको अस्तित्व समाप्त पार्ने अभियानमा लागेका छन्,’ भट्टराईले भनेका छन्, ‘स्ववियु निर्वाचनबारे विद्यार्थी संगठनसँग कुनै छलफल नगरी निर्वाचन स्थगित गरिएको छ।’
चुनाव भएमा आफ्नो मनलाग्दी रोकिने डरले त्रिविले स्ववियुको अस्तित्वमाथि धावा बोल्ने प्रयास गरेको पनि उनले आरोप लगाए।
‘सरकार र त्रिविको स्वार्थ मिलेका कारण विद्यार्थी संगठनलाई दोष दिएर स्ववियु निर्वाचन स्थगित गरिएको छ। सरकार र त्रिविको यो हर्कतका विरुद्ध लोकतन्त्रवादी विद्यार्थीलाई गोलबन्द हुनसमेत आग्रह गर्दछौं,’ उनले भनेका छन्।