अमेरिकाको अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकारलाई ४० महिनाको कारावास सजाय सुनाएको छ।
अदालतले ट्रम्पका ६७ वर्षिय पूर्व सल्लाहकार रोजर स्टोनलाई अमेरिकी कंग्रेसलाई सात पटक ढाँटेको, व्यवधान गरेको र साक्षीलाई प्रभावित गरेको भन्दै सो सजाय तोकेको हो।
उनलाई सो सजाय सुनाएकी न्यायाधीशले उनीप्रति 'घृणा' व्यक्त गर्दै आफूलाई स्टोनले धम्काएको समेत बताएकी छन्।
न्यायाधीश एमी बर्मन ज्याकसनले यस मामिलामा राष्ट्रपति ट्रम्पलाई भने सफाइ दिनुपर्ने बताइन्।
बिबिसीमा प्रकाशित समाचारका अनुसार सन् २०१६ मा ट्रम्पको चुनावी अभियानमा ट्रम्पलाई रुसले सघाउन गरेको प्रयासमा जोडिएको पाइएपछि सो प्रकरणमा दोषी हुने स्टोन ट्रम्पका छैटौं सल्लाहकार हुन्।
अमेरिकी न्याय मन्त्रालयले गरेको अनुसन्धानमा उनी दोषी भेटिएका थिए।
अनुसन्धानका क्रममा स्टोन गुप्तचर समितिले विकिलिक्ससँग सम्पर्क स्थापित गर्न गरेको प्रयासलाई ढाँटेकोमा उनलाई दोषी पाएको थियो।
विकिलिक्सले सन् २०१६ को चुनावी अभियानका बेलामा डोमोक्र्याटहरूबाट ट्रम्पकी प्रर्तिष्पर्धी बनेकी हिलारी क्लिन्टनको व्यक्तिगत इमेलहरू लिक गरिदिएको थियो।
अमेरिकी जासुसी अधिकारीहरूले रूसी ह्याकरहरूले क्लिन्टनसम्बन्धी ती इमेलहरूको चुहावट गरेका थिए।
अदालतले स्टोनलाई कारावास सजायसँगै २० हजार अमेरिकी डलर जरिमाना र २५० घण्टा सामुदायिक सेवा गर्ने आदेशसमेत दिएको छन्।
यस मुद्धामा अभियोजनकर्ताहरूले स्टोनलाई ७ देखि ९ वर्षसम्मको कारावास सजाय मागेका थिए।
स्टोनमाथिको यस सजायमा अभियोजनकर्ताहरूले ७ देखि ९ वर्षको कारावास सजाय माग गरेकोमा ट्रम्पले यसअघि नै आपत्ति प्रकट गर्दै ट्वीट गरेका थिए।
ट्विटमा उनले यस्तो सजाय 'डरलाग्दो' र पूर्वाग्रही' हुने उल्लेख गरेका थिए।
ट्रम्पको यस आपत्तिपछि अमेरिकाको न्याय मन्त्रालयले स्टोनलाई दिइने कारावास सजाय घटाउन अपिल गर्ने बताएको थियो।
न्याय मन्त्रालयको सो योजना सार्वजनिक गरेपछि यस मुद्धामा काम गरिरहेका चार जना अभियोजनकर्ताले त्यसमा असहमति प्रकट गर्दै मुद्धाबाट आफूलाई अलग गरेका थिए। ती मध्येका एक जनाले त सो मन्त्रालयसमेत छाडेका थिए।
सजायपछि स्टोनको बचाउ गरेका ट्रम्पले स्टोनलाई तत्काल माफी दिने आफ्नो कुनै योजना नभएपनि एक किसिमको फैसला लिने बताएका छन्।