सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी पाएका अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी स्रोतबाट सञ्चालित मिडियाका नजरमा सञ्चारमन्त्रीमात्र मन्त्री हुन नहुने बताएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज पदभार ग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै खतिवडाले सरकारी स्रोतबाट संचालन हुने सार्वजनिक सञ्चारमाध्यमका लागि जनतादेखि सरकारसम्मका सबै पक्ष उत्तिकै महत्वपूर्ण हुने बताए।
‘सरकारी स्रोतबाट चल्ने सञ्चार माध्यम भनेको सञ्चारमन्त्रीको मात्र माध्यम होइन। सामान्य जनतादेखि समग्र राज्यको हो। त्यसैले तपाईहरुले दिने सूचनाले सबैलाई उत्तिकै लाभ पुर्याएको हुनुपर्छ’ खतिवडाले भने।
खतिवडाले सरकारी स्रोतमा मात्र निर्भर भएका माध्यमले थप मेहनत गरेर आफ्नो स्वायत्तता र राज्यप्रतिको उत्तरदायित्व बढाउनका लागि थप सिर्जनशील हुनुपर्ने बताए।
‘कुनै समय सूचनाको स्रोत नभएका बेला सरकार आफैले लगानी गरेर खडा भएका माध्यमले देशका कुनाकन्दारासम्म सूचना पुर्याउने काम गर्यो। तर अहिले निजी क्षेत्र शसक्त रुपमा आएको छ। यस्तोमा सार्वजनिक माध्यमले थप मेहनत गर्नुपर्ने बेला भएको छ। एकातिर निजी क्षेत्रसँग प्रतिपस्पर्धा गर्नलाई गुणस्तरमा ध्यान दिने, अर्कोतिर आत्मनिर्भर हुने’ उनले भने।
खतिवडाले सरकारी माध्यम भएकै कारण सरकारको गुनगान गाउनुपर्छ भन्नेमा सरकार नरहेको बताए।
‘सार्वजनिक माध्यम भएकाले तपाइहरुले सरकारको गुनगान गाउनुपर्छ भन्ने छैन। भएको जे हो राम्रो, नराम्रो जे भएपनि जस्ताको तस्तै जनतासम्म पुर्याएपछि पुग्छ, यतिमात्र गरिदए हुन्छ’ उनले भने।
समग्र सञ्चारमाध्यमप्रति सरकारको धारणा संविधानले ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रतताबाट तलमाथि नरहेको उनको भनाइ छ।