सिन्धुलीस्थित कमलामाई नगरपालिकाको एक कार्यक्रममा सहभागी हुन सोमबार जाँदै गरेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल बाटोबाटै फर्किएका छन्।
कमलामाई नगरपालिकाको कार्यक्रममा भाग लिन गएका उनी गोलन्वझर गाउँपालिका ७ पलाँसेस्थित बीपी राजमार्गमा जाम परेपछि त्यहीँबाट काठमाडौं फर्किएका हुन्।
राजमार्गमा सवारी साधनले पैदल यात्रीलाई ठक्कर दिएपछि विहान साढे ७ बजेदेखि सडक अवरूद्ध भएको थियो।
‘पैदल यात्रीलाई मृत्युपछि राजमार्ग अवरूद्ध थियो। उपप्रधानमन्त्री पनि जाममा पर्नुभएको थियो। उहाँ कार्यक्रम स्थल जान पाउनु भएन। मन्त्रिपरिषद बैठकमा भाग लिनु छ भन्दै काठमाडौं फर्कनुभयो,’ सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सेतोपाटीसँग भने।
सोमवार विहान सवारी साधनको ठक्करबाट ५५ वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको थियो। उनी तरकारी बिक्री गर्न बजार जाँदै थिए। ठक्कर दिने सवारी साधन र चालक नियन्त्रणमा लिनुपर्ने तथा राहत उपलब्ध गराउनुपर्ने माग राख्दै आफन्त र स्थानीय बासिन्दाले राजमार्ग अवरूद्ध पारेका थिए।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रहरी उपरीक्षक रञ्जु सिग्देलले ठक्कर दिने सवारी साधनको पहिचान नभएको बताइन्। ‘हामी खोजी गर्दै छौं,’ उनले सेतोपाटीसँग भनिन्। राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएको छ।