नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले शनिबार गठन गरेको संविधान संशोधन गर्न गृहकार्य गर्ने कार्यदलको पहिलो बैठक संयोजक माधवकुमार नेपालको कोटेश्वरस्थित घरमा बसेको छ।
सोमबार बिहान बसेको बैठकमा कार्यदलका सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा उपस्थित थिए।
नेकपा सचिवालय बैठकले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने र राष्ट्रिय सभा सदस्य संख्या थप गर्ने गरी गृहकार्य गर्न नेता नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।
‘गोप्य’ राख्ने भनिएको उक्त कार्यदल गठन निर्णय आइतबार सार्वजनिक भएपछि कार्यदल सदस्य नेम्वाङले आफूलाई जानकारीबिनै कमिटीमा राखेकोमा आपत्ति जनाएका थिए।
राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधनको गृहकार्य सुरू भएपछि त्यसको व्यापक आलोचना भएको थियो। पार्टीभित्रै र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि नेकपाको संविधान संशोधन गर्ने तयारीबारे प्रश्न उठाएका थिए।
सञ्चार माध्यम र सामाजिक सञ्जालमा पनि कार्यदलको आलोचना भएको थियो।
संयोजक नेपालले कार्यदलका दुवै सदस्यलाई सोमबार बिहानै घरमै बोलाएर छलफल गरेका हुन्। स्रोतका अनुसार नेम्वाङले नेपाललाई टेलिफोनमा कार्यदलको औपचारिक बैठक भए आफू नआउने तर व्यक्तिगत रूपमा भेट्न भने आफू आउने जनाएका थिए।
नेपालले ‘आउनुहोस् न कुरा गरौं’ भनेपछि नेम्वाङ नेपाल निवास कोटेश्वर पुगेका थिए। नेम्वाङ पुग्दा अर्का सदस्य देवकोटा त्यहीँ थिए।
छलफलको सुरूमै नेम्वाङले संविधान संशोधनजस्तो गम्भीर विषयको औचित्य स्थापित भएपछि मात्रै अघि बढ्नुपर्ने बताउँदै अमुक व्यक्तिको इच्छाअनुसार राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्नु उचित नहुने बताए।
‘उहाँले कार्यदल गठन भएको हो भने त्यसलाई किन सार्वजनिक गरिएन? यति महत्वपूर्ण विषयमा पनि नेकपाले अपारदर्शी निर्णय गर्न मिल्छ भनी प्रश्न गर्नुभयो,’ स्रोतले सेतोपाटीसँग भन्यो।
अर्का सदस्य देवकोटाले राष्ट्रपतिय प्रणालीमा जाने गरी संविधान संशोधन गर्न लागिएको हो कि भनेर आफू उत्साहित भएको बताएका थिए।
‘राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्ने गरी संविधान संशोधनको गृहकार्य गर्न लागिएको भए मेरो विचार पनि सुवास दाइकै जस्तो छ,’ देवकोटालाई उद्धृत गर्दै स्रोतले बतायो।
सचिवालयले तय गरेको विषयमा संविधान संशोधन गर्नु औचित्यपूर्ण नहुने राय दुवै सदस्यले राखेपछि थप छलफल अगाडि बढेन।
‘बैठक फासफुसजस्तै भयो,’ स्रोतले भन्यो।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार सचिवालय बैठकमा संविधान संशोधन गृहकार्य गर्ने गरी प्रस्ताव लगेका थिए। उक्त प्रस्तावमा अर्का अध्यक्ष केपी शर्मा ओली ‘मौन’ बसेका थिए।
बर्दियाबाट चुनाव हारेका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न संविधान संशोधनको गृहकार्यका लागि कार्यदल बनेको थियो।
आफूलाई राष्ट्रियसभा सदस्य बनाउने हो भने पहिले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधन गर्न उपाध्यक्ष गौतमले आग्रह गर्दै आएका थिए।