प्रहरीले पृथ्वीनारायण क्याम्पस पोखराका नेविसंघ नेता रोशन हमाललाई पक्राउ गरेको छ।
अनेरास्ववियूले आफूहरूमाथि कुटपिट भएको भन्दै किटानी जाहेरी दिएपछि सोमबार हमाललाई कास्की प्रहरीले पक्राउ गरेको हो।
क्याम्पसमा गत फागुन ८ गते नेविसंघ र अनेरास्ववियूबीच झडप भएको थियो। उक्त घटनामा अनेरास्ववियूका विशाल पन्त र विराट दवाडी घाइते भएका थिए। मणिपाल शिक्षण अस्पतालमा उपचार गरेर उनीहरू डिस्चार्ज भइसकेका छन्।
नेविसंघले संगठनको झगडामा व्यक्ति किटान गरेर जाहेरी दिएको भन्दै विज्ञप्ति निकालेर आपत्ति जनाएको छ। नेविसंघ महामन्त्री दीपक भट्टराईले संगठनबीच भएको विवादमा किटानी जाहेरी दिइएको भन्दै विरोध गरे।
नेविसंघ अध्यक्ष राजीव ढुंगानाले सोमबार विज्ञप्ति निकालेर झडपमा उपस्थित नै नभएका हमाललगायतलाई राजनीतिक प्रतिशोधका आधारमा किटानी जाहेरी दिइएको भन्दै विरोध गरेका छन्।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार पोखरामा कालो झण्डा देखाउन खोजेको आरोपमा प्रहरीले नेविसंघका निर्दोषविक्रम पौडेल, अशिम सुवेदीलाई जनप्रिय क्याम्पस अगाडिबाट नियन्त्रणमा लिएको महामन्त्री भट्टराईले बताए।
‘हाम्रा साथीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ, विनाशर्त उहाँहरूलाई तुरून्त रिहाइ गर्नुपर्छ,’ भट्टराईले सेतोपाटीसँग भने।