सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेपछि राजीनामा दिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा अहिले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घरमा बसिरहेका छन्।
अडिओ टेप बाहिरिएपछि मन्त्री बाँस्कोटालाई प्रधानमन्त्री ओलीले गत बिहीबार बालुवाटारमा बोलाएर राजीनामा दिन लगाएका थिए। मन्त्रीबाट राजीनामा दिए पनि मन्त्री बनेपछि बस्न थालेको बालकोटस्थित ओलीको घर भने बाँस्कोटाले छोडेका छैनन्।
‘उहाँ बालकोटमा रहेको प्रधानमन्त्रीकै घरमा हुनुहुन्छ। बाहिर खासै निस्केको देखेको छैन। आकलझुकलमात्रै कार्यकर्ता भेट्न आएको देख्छौं,’ स्रोतले सेतोपाटीसँग भन्यो।
प्रधानमन्त्री ओली र बाँस्कोटाबीच निकट सम्बन्ध थियो। सोही निकटताका आधारमा बाँस्कोटालाई प्रधानमन्त्री ओलीले आफ्नै घरमा बस्न दिएका थिए। राज्यमन्त्री हुँदै मन्त्री बनेका बाँस्कोटा पुल्चोकस्थित मन्त्रीक्वार्टरमा कहिल्यै बसेनन्।
बाँस्कोटाले भक्तपुरकै लोकन्थलीमा घर बनाएका छन्। गत भदौदेखि निर्माण थालिएको उनको घर फिनिसिङ हुन बाँकी छ।
उनी कहिले निजी घरमा सर्छन् भन्नेबारे बुझ्न सेतोपाटीले सम्पर्क गर्दा बाँस्कोटासँग सम्पर्क हुन सकेन।
राजीनामा बुझाएपछि बाँस्कोटाले पहिला चलाउँदै आएको आफ्नो मोबाइल स्वीच अफ गरेका छन्।