राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारदेखि सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने भएकी छन्। बुधबार बिहान उनी नियमित जहाज चढेर कैलालीको धनगढी पुग्ने छन्। धनगढीमा आज विश्व साहित्य सम्मेलन हुँदैछ। आज राष्ट्रपति भण्डारी सो कार्यक्रममा सहभागी हुनेछन्।
बिहीबार उनी पहाडी जिल्लाको भ्रमणमा जानेछन्। हेलिकप्टरबाट दार्चुला जाने राष्ट्रपति भण्डारी दिउँसो बैतडी पुग्नेछन्।
बैतडीको पाटनमा उनले सिटिइभिटीको एउटा कलेजको उद्घाटन गर्ने कार्यक्रम छ। पाटन नगरपालिका ६ मा बनेको उक्त कलेजको उदघाटन गर्नुअघि राष्ट्रपति भण्डारीले दशरथ नगरपालिकामा पर्ने त्रिपुरा सुन्दरीको दर्शन गर्ने कार्यक्रम छ।
राष्ट्रपति आउने भएपछि पाटन नगरपालिकाले बिहीबार नगरभरि सार्वजनिक विदा दिएको छ।
‘पहिलो पटक राष्ट्रप्रमुख आउन लाग्नुभएकाले भोलि नगरभरिका सरकारी कार्यालय र शिक्षण संस्थालगायतमा विदा दिने निर्णय गरेका हौं,’ पाटनका नगरप्रमुख केशरबहादुर चन्दले सेतोपाटीसँग भने,‘उहाँको भव्य स्वागत गर्ने तयारी गरिरहेका छौं।’
बैतडीको भ्रमण सकेर राष्ट्रपति भण्डारी डडेल्धुरा पुग्नेछन्। त्यहाँ उनले केही धार्मिक स्थलको दर्शन गर्ने कार्यक्रम छ।
त्यसपछि उनी कञ्चनपुर जानेछन। कञ्चनपुरको शुक्लाफाँटा महोत्सवमा सहभागी बनेर राष्ट्रपति भण्डारी शुक्रबार काठमाडौं फर्कने कार्यक्रम रहेको शितलनिवास स्रोतले जानकारी दिएको छ।