हङकङ सरकारले आफ्ना ७० लाख नागरिकलाई प्रतिव्यक्ति १० हजार हङकङ डलर दिने भएको छ।
कोरोना भाइरसका कारण अर्थतन्त्रमा आएको मन्दीलाई उकास्न हङकङले स्थायी नागरिकलाई १० हजार हङकङ डलर अर्थात् १२ सय ८० अमेरिकी डलर दिने निर्णय गरेको हो।
हङकङको बजेट सार्वजनिक गर्दै बुधबार अर्थमन्त्री पल च्यानले नागरिकलाई नगद दिने घोषणा गरेका हुन्।
यो नगद १८ वर्षभन्दा बढी उमेरकाले पाउने च्यानले बताए। नागरिकले पाएको उक्त रकमले हङकङको अर्थतन्त्रलाई चलायमान बनाउने सरकारको अपेक्षा छ।
च्यानले आउँदो आर्थिक वर्षको घाटा १३१.१ विलियन हङकङ डलर हुने अनुमान गरेका छन्।
चीनसँग हुन खोजेको सुपुर्दर्गी सन्धीको विरोधमा भएको महिनौं लामो हिंसात्मक आन्दोलन र पछिल्लो समय चीनको वुहानबाट फेलिएको कोभिड-१९ को संक्रमणले हङकङको अर्थतन्त्र निकै खस्किएको छ।
प्रमुख कार्यकारी क्यारी लामले अर्थतन्त्रमा आएको गिरावटलाई रोक्न विभिन्न कोसिस गरिरहेकी छिन्। बुधबार गरिएको घोषणा पनि त्यही कोसिसमध्येको हो।