नेपाली कांग्रेसका नेता गगन थापाले अर्थमन्त्री युवराज खतिवडाले पुस्तकमा लगाइएको करबारे दिएको अभिव्यक्तिबारे टिप्पणी गरेका छन्।
शुक्रबार ट्वीट गर्दै थापाले भनेका छन्-विद्वान अर्थमन्त्रीज्यूले भन्नुभएछ'पुस्तकमा कर लगाएको हो ज्ञानमा होइन, करको विषयमा बहस गर्न तयार छु'। मन्त्रीज्यू हामी पनि तयार छौं। बहस कहाँ गरौं-संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा?’
बिहीबार नियमित पत्रकार सम्मेलनमा पत्रकारले पुस्तकमा लगाइएको १० प्रतिशत करबारे प्रश्न सोध्दा उनले भनेका थिए- ‘पुस्तक पनि व्यापार हो। पुस्तकको व्यापार गरेर नाफा कमाइन्छ भने कर लाग्छ,’ खतिवडाले भने, ‘यो ज्ञानको व्यापार होइन, दिग्भ्रमित नपार्नुस्।’
उनले पुस्तकमा लगाइएको कर नहट्ने र त्यसबारे बहस गर्न आफू तयार भएको पनि बताएका थिए।
विदेशबाट पुस्तक ल्याउँदा १० प्रतिशत कर लगाइएको बताउँदै उनले नेपालमा बैंकबाट ऋण लिएर स्थापना भएका प्रेसलाई संरक्षण गर्न पनि कर लगाइएको उनले बताएका थिए।
‘हाम्रो मुलुकमा अर्बौं लगानी गरेर प्रेस स्थापना भएको छ। बैंकबाट ऋण लिएका छन् स्वदेशी उद्योग हो संरक्षण गर्नुपर्छ,’मन्त्री खतिवडाले भनेका थिए।
यो पनि :
पुस्तकमा कर लगाएको हो, ज्ञानमा कर लगाएजस्तो दिग्भ्रमित नपार्नुस्: अर्थमन्त्री खतिवडा
किताब करमा अर्थमन्त्रीको भनाइ कति सही? कति गलत?