सरकारले पुस्तकमाथि कर लगाएकोप्रति नेपाल तरुण दलले आपत्ति जनाएको छ।
व्यक्तिलाई सक्षम, सवल, वुद्धिमानी र समाजप्रति जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्ने पुस्तकमाथि सरकारले लगाएको कर फिर्ता गर्न तरुण दलले विज्ञप्ति निकालेर माग गरेको छ।
‘अनावश्यक कर वृद्धि गर्नुले विद्यार्थीहरुमा पुस्तकको मूल्य वृद्धि भई पठनपाठन महँगो हुनुका साथै शिक्षा क्षेत्रमा धान्नै नसक्ने गरी जनतालाई पीडा थपिदिएको महशुस भएको छ,’ अध्यक्ष जीतजंग बस्नेतले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
जनताको हितमा गरिएको मागलाई बेवास्ता गरी जनतामाथि अन्याय नगर्न सरकारलाई तरुण दलले चेतावनी दिएको छ। पुस्तकमाथि लगाइएको १० प्रतिशत कर नहटाए आन्दोलन गर्ने तरुण दलले बताएको छ।