उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने/नपठाउनेबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र रस्साकस्सी जारी छ।
गत बुधबार बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्यमा पठाउने निर्णय गरेको थियो। उक्त प्रस्ताव अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए।
निर्णय भएको केहीघन्टामै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उक्त निर्णय आफूले नमान्ने बताए।
वामदेवलाई राष्ट्रिय सभामा जानुको अर्थ उनी सांसदमात्र हुने होइन, मन्त्रिपरिषद नै फेरबदल हुने हो। किनकी वामदेव अर्थमन्त्री युवराज खतिवडाको ठाउँमा सांसद बन्न खोज्दैछन्। आफ्ना विश्वासपात्र खतिवडालाई हटाएर फेरि नयाँ अर्थमन्त्री ल्याउने सोचमा प्रधानमन्त्री ओली छैनन्। त्यसैले उनले वामदेवलाई राष्ट्रिय सभामा नपठाउने अडान लिँदै आएका छन्।
वामदेवबारे ओली-प्रचण्ड आमनेसामने भएपछि बरिष्ठ नेता माधवकुमार नेपालको व्यस्तता बढेको छ।
बुधबार दिउँसो उनलाई प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएर सचिवालयको बैठकबारे असन्तुष्टि जनाएका थिए।
शुक्रबार बिहान नेपाल प्रचण्डसँग छलफल गर्न प्रचण्ड निवास खुमलटार पुगे। उक्त छलफलमा अर्का बरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी थिए।
नेपाल र खनालसँग छलफल गरेर गृहजिल्ला चितवन पुगेका प्रचण्ड वामदेवबारे सचिवालयले गरेको निर्णय प्रधानमन्त्री ओलीले मान्ने र मान्नुपर्ने बताए।
‘उहाँले गर्नुहुन्छ, मैले त्यत्ति बुझेको हो। प्रधानमन्त्रीले सिफारिस नगरे के हुन्छ भन्ने कुरातिर म अहिले जान चाहन्नँ,’ प्रचण्डले भने,‘प्रधानमन्त्री र मेरो संयुक्त अध्यक्षतामा बसेको बैठकले गरेको सर्वसम्मत निर्णय गरेको हो।’
प्रचण्डसँगको छलफलपछि नेता नेपाल दिउँसो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका छन्।
प्रधानमन्त्री ओली र नेपालबीच के-के कुरा भयो भन्ने खुलिसकेको छैन।