नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिमा सरकारले प्रतिबन्ध लगाएको एक वर्ष पुगेको दिन बुधबार पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा विस्फोट भएको छ।
भक्तपुरको लोकन्थलीमा तला थपिरहेको बाँस्कोटाको घरमा भएको बिस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन। तर प्रहरीले बाँस्कोटाको घरमा विप्लव समूहले बिस्फोट हुन सक्ने अनुमान गरेको छ।
गत वर्ष २०७५ फागुन २८ गते बसेको मन्त्रिपरिषद बैठकले विप्लव समूहले चन्दा आतंक बढाएको भन्दै उसका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
उक्त निर्णय दुई दिनपछि तत्कालीन सरकारका प्रवक्तासमेत बाँस्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए।
चन्दा आतंक, टेलिफोन टावरमा आगजनीलगायत आपराधिक गतिविधि गरेको भन्दै सरकारले विप्लवको नेकपालाई आपराधिक समूह भनेको थियो।
विप्लवको नेकपामाथि प्रतिबन्ध लगाउनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र आफूलाई मार्न मान्छे खटाएको दाबी गरेका थिए। प्रधानमन्त्रीको दाबीपछि मन्त्रिपरिषद बैठकले नै विप्लव समूहमाथि नै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव नेतृत्वको नेकपा आपराधिक समूह भएको भन्दै प्रतिबन्ध लगाउने प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए।
साथै प्रधानमन्त्री ओलीले त्यसबेला विप्लवको पार्टीलाई लुटेरा समूहको संज्ञा दिएका थिए। ललितपुरको नख्खुमा बम बिस्फोट गराउँदा एक जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएको प्रसंगमा प्रधानमन्त्रीले लुटेरा समूह भनेका थिए।
प्रधानमन्त्रीले विप्लव समूहलाई लुटेरा भनेकै दिन वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरूङको घरमा पार्किङ गरिराखेको गाडीमा विप्लव समूहले बिस्फोट गराएको थियो।
विप्लव नेतृत्वको समूहमाथि प्रतिबन्ध लगाएको र विप्लवलाई संगठित अपराध निवारण ऐनअन्तर्गत प्रतिबन्ध लगाएको नियमित पत्रकार सम्मेलनमा बाँस्कोटाले बताएका थिए।
उनले विप्लव समूह भनेर चिनिने नेकपा कुनै राजनीतिक दल नभएको र संगठित अपराधमा सक्रिय रहेकोले कानुनत: निषेध गरिएको बताएका थिए। ‘वार्तामा बस्न पटक-पटक आह्वान गर्दा इन्कार गर्ने बरू वार्ताका नाममा हिरासतमा रहेका कार्यकर्ता छुटाउने र आपराधिक कार्यमा संलग्न गराउने नियत देखिएपछि कानुनको धारामै टेकेर बर्जित गरिएको’ पत्रकार सम्मेलनमा बाँस्कोटाले भनेका थिए।
विप्लवमाथि प्रतिबन्ध लगाएको एक वर्षमा उसका सात सयभन्दा बढी नेता/कार्यकर्ता थुनामा छन्।