भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी सामाजिक दुरीको महत्व सिकाउन आफै स्थानीय तरकारी तथा फलफूल बजार पुगेकी छिन्।
बिहीबार कोलकत्ताको स्थानीय तरकारी बजारमा पुगेर मुख्यमन्त्री बेनर्जीले आफैले तरकारी पसल अगाडि गोलो घेरा लगाइदिएकी हुन्।
भारतमा कोरोना भाइरसका कारण २१ दिन लकडाउन जारी छ। अतिआवश्यक खाद्यान्नका लागि भने छुट दिइएको छ। तर खाद्यान्न पसलमा पनि भीडभाड हुने भएपछि मुख्यमन्त्री आफै तरकारी बजारमा पुगेकी थिइन्।
उनले तरकारी पसलेलाई ग्राहकहरूको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा निर्देशन दिदैँ केही दुरी कायम गरी गोलो घेरा लगाइदिएकी हुन्।
उनले पछि त्यहाँ उपस्थित सबै नागरिकहरूलाई सामाजिक दुरी कायम गर्नुको महत्वबारे जानकारी समेत गराएकी थिइन्।
शुक्रबारसम्म भारतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ भने संक्रमित संख्या ७०० कटेको छ।