कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणको लागि प्रदेश नम्बर १ मा १७ सय शैयाको क्वारेन्टाइन तयार पारिएको छ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश एकमा १ हजार ७ सय ६१ वटा बेडको क्वारेन्टाइन तयार भएको सेतोपाटीलाई जानकारी दिए।
मन्त्री घिमिरेले प्रदेश १ मा अहिले १ सय ३४ जना क्वारेन्टाइन र ४ सय ९८ जना व्यक्ति होम क्वारेन्टाइनमा बसिरहेको बताए।
उनले आजैबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको परीक्षण सुरू गरिने जानकारी दिए। अहिलेसम्म २८ जनाको नमूना परीक्षण गर्न केन्द्र पठाएकोमा २३ जनाको नेगेटिभ र ५ जनाको नतिजा आउन बाँकी रहेको मन्त्री घिमिरले बताए।
यस्तै प्रदेशले केन्द्र सरकारसँग स्वास्थ्य सामाग्री पनि मगाएको छ। सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. अशोक महेताले प्रदेशलाई चाहिने स्वास्थ्य सामाग्रीको लिस्ट केन्द्रलाई पठाएको बताए।
प्रदेशले १० हजार पिपिई, १० हजार एन-९५ मास्क, ६ सय ५० वटा इन्फ्रारेड थर्मोमिटर माग गरेको छ। त्यस्तै १ लाख पञ्जा, एउटा पिसिआर मेसिन र २५ वटा भेन्टिलेटर पनि माग गरेको छ।
'हामीले प्रदेशलाई चाहिने सामाग्री माग गरेको हो। अब कसरी वितरण गर्ने कुरा केन्द्रको हातमा छ,' मन्त्री घिमिरेले भने।
आइतबार बिहान नेपालले चीनबाट स्वास्थ्य सामाग्री ल्याएको छ। स्वास्थ्य सामाग्री लिनको लागि नेपाल एअरलाइन्सको जहाज शनिबार चीनको गोन्जाओ गएको थियो। उच्च स्तरीय समितिले स्वास्थ्य सामाग्रीहरू सातवटै प्रदेशलाई वितरण गर्ने जनाएको छ।